नेपालगन्ज,
जिल्लास्तरीय उन्नत तरकारी खेती प्रविधि तालिम सम्पन्न।नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित परियोजना कार्यान्वयन इकाई बर्दियाको आयोजनामा जिल्लास्तरीय उन्नत तरकारी खेती प्रविधि तालिम सम्पन्न भएको छ।
तालिम बाँके जिल्लाको कृषि ज्ञान केन्द्रमा आयोजना गरिएको थियो। उक्त तालिममा बाँके जिल्लाका ३० देखि ४० जना अगुवा कृषकहरूको सहभागिता रहेको थियो। तालिममा व्यावसायीका तर्फबाट प्रशिक्षक किरण खनालले उन्नत तरकारी खेतीका प्रविधिहरू, रोगप्रतिरोधी बिउको चयन, मल व्यवस्थापन, कीट नियन्त्रणका उपाय तथा व्यावसायिक खेतीका रणनीतिहरूबारे गहन जानकारी प्रदान गरेका हुन।
कृषकहरूलाई उन्नत खेती प्रविधिसँग परिचित गराउँदै उनीहरूको उत्पादन क्षमतामा अभिवृद्धि गर्दै व्यावसायिक कृषि अभ्यासमा प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको प्रशिक्षक खनालले बताए।
तालिममा सहभागी कृषकहरूले आधुनिक खेतीको ज्ञान र सीप प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा सिकाइएका प्रविधिहरूलाई प्रयोग गरी आफ्नो तरकारी उत्पादनलाई थप उन्नत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा परियोजनाका प्रतिनिधिहरूले कृषि आधुनिकीकरण र कृषकको जीवनस्तर सुधार्न यस किसिमका तालिमहरूले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।