काठमाडौं, महेश जैसी
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण लगायतका मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिजो कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेसँगै अहिले नेपाली राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। रवि छुटेसँगै रविलाई सबैभन्दा ठूलो टाउको दुखाइ मान्ने काँग्रेस महामन्त्री गगन थापा देखि प्रधानमन्त्री ओली आत्तिएका छन्।
८३ दिनको हिरासत बसाइपछि पनि उही जोश र ऊर्जा सहित बाहिर आएका लामिछानेले आज मात्रै काठमाडौं प्रवेश गरेका छन्। उनी छुटेसँगै सरकार पनि डगमगाएको आशंका विज्ञहरूले गर्न थालेका छन्।
चितवन क्षेत्र नं. २ बाट दुई पटक चुनाव जितेर दुई पटक गृहमन्त्री बनेका लामिछाने अब चुप लागेर नबस्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। आफूविरुद्ध राजनीतिक प्रतिसोध साधिएको बताउँदै आएका लामिछाने अब त्यही प्रतिसोधको बदला लिनतर्फ लाग्न सक्ने बताइन्छ। काँग्रेस महामन्त्री गगन थापा र रास्वपा सभापति लामिछाने एक-अर्काका कट्टर दुश्मन भए पनि अहिले काँग्रेस र रास्वपाको समीकरणमा नयाँ सरकार बन्ने चर्चा राजनीतिक वृत्तमा चुलिएको छ।
त्यसो भए फेरि सरकारमा जान्छ त रास्वपा?
यो प्रश्न अहिले धेरै उठिरहेको छ। स्रोतका अनुसार रास्वपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने गरी नयाँ समीकरण बनिरहेको छ। तर, रास्वपा र माओवादीले मात्र चाहेर सरकार फेरबदल हुन सक्दैन। त्यसका लागि काँग्रेस वा एमालेको समर्थन आवश्यक हुन्छ।
पछिल्लो समय काँग्रेस र एमाले बीच BRI लगायतका विषयमा मनमुटाव बढिरहेको छ। यही कमजोरीको फाइदा उठाउँदै प्रचण्ड फेरि प्रधानमन्त्रीको कुर्सी हत्याउने दाउपेचमा छन्।
प्रचण्डले सुरुदेखि नै सभापति लामिछानेलाई दिएको साथको बदलामा रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन सक्ने अनुमान गरिएको छ। “सरकारमा नजाने तर प्रचण्डलाई विश्वासको मत दिने” विषयमा रास्वपाभित्र छलफल भइरहेको रास्वपाका एक केन्द्रीय नेताले जानकारी दिए।
कसरी ढल्न सक्छ सरकार?
नेपाली काँग्रेस, नागरिक उन्मुक्ति तथा लोसपा लगायतको समर्थनमा प्रधानमन्त्री बनेका ओली पछिल्लो समय काँग्रेसमाथि हावी हुन थालेपछि काँग्रेसका मन्त्रीहरू ओलीसँग असन्तुष्ट छन्।
सम्झौताअनुसार ओलीको कार्यकाल अब धेरै छैन। आफ्नो कार्यकाल नसकिँदै ओली फेरि माओवादीसँग मिलेर सरकार बनाउने हल्ला चलिरहेकै बेला माओवादीको प्रस्तावमा काँग्रेससम्मिलित सरकार बन्ने आशंका गर्न थालिएको छ।
काँग्रेस-माओवादीको सरकारलाई रास्वपाले विश्वासको मत दिए कुनै अचम्म मान्न नहुने विश्लेषकहरू बताउँछन्। सभापति लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा नयाँ सरकारलाई विश्वासको मत दिए रास्वपामाथि स्वार्थ-समीकरणको ट्याग लाग्न सक्छ। त्यसैले पनि नयाँ सरकारलाई समर्थन गर्नु वा नगर्नु रास्वपा र सभापति लामिछानेका लागि परीक्षा हुनेछ।
गगन र रवि एउटै सरकारमा कसरी सम्भव?
भनिन्छ, राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन। साथै राजनीतिलाई स्वार्थको खेलको उपमा पनि दिइन्छ।
रवि र गगन, अझ समग्रमा रास्वपा र काँग्रेसको सित-युद्धजस्तै चलिरहेको बेला काँग्रेस र रास्वपाकै सत्ता समीकरण भएमा त्यसलाई राजनीतिक स्वार्थसँगै भूराजनीतिक प्रभाव मान्न सकिन्छ। गगनले रास्वपा सहितको नयाँ सरकारको प्रस्ताव अस्वीकार गरे पनि उनी पार्टी नेतृत्वको दबाबमा पर्नेछन्।
उता, रविलाई आफ्नो मुद्दा किनारा नलाग्दासम्म सरकारसँग मिलेर जाँदा फाइदा हुने देखिन्छ।
यही स्वार्थका कारण नेपाली काँग्रेस र रास्वपा एउटै धारमा आउन सक्ने अनुमान गरिएको छ।