जोगबुढा डडेलधुरा,
परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूका लागि ठूलो राहतको घोषणा गरेको छ। आर्थिक रूपमा कमजोर र उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै नगरपालिकाले “बिना ब्याज शैक्षिक ऋण कार्यक्रम” सुरु गरेको हो। यस कार्यक्रम अन्तर्गत योग्य विद्यार्थीहरूले अधिकतम पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋण बिना ब्याजमा प्राप्त गर्न सक्नेछन्।
यो ऋण कार्यक्रमले विद्यार्थीहरूको आर्थिक समस्या समाधान गर्दै उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्याउने विश्वास गरिएको छ। व्यवसायिक र प्राविधिक शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि यो अवसर एक महत्वपूर्ण कदम भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन।
यस कार्यक्रमले बिद्यार्थीहरुलाइ आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्य राखिएको छ।
आवेदनको अन्तिम मिति: मंसिर १०, २०८१
यस कार्यक्रमका लागि आवेदन दिने अन्तिम मिति मंसिर १०, २०८१ सम्म तोकिएको छ। इच्छुक विद्यार्थीहरूले समयमै आवेदन दिनुपर्नेछ र अधिक जानकारीको लागि परशुराम नगरपालिकाको आधिकारिक वेबसाइट www.parshurammun.gov.np मा जान सक्नेछन्। साथै, आवश्यक भएमा सम्पर्क नम्बर ०९६-८९९००८ मार्फत पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ।
नगरपालिकाको पहलको सराहना:
स्थानिय जनताले परशुराम नगरपालिकाको यो कदमलाई शिक्षा क्षेत्रमा गरिएको ठूलो लगानिका रुपमा लिएका छन्। आर्थिक अभावका कारण प्राविधिक तथा व्यवसायिक शिक्षा हासिल गर्न नसकिरहेका विद्यार्थीहरूको लागि यो योजना एउटा महत्वपूर्ण अवसर बनेको छ। नगरपालिकाले युवाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै ल्याएको यो कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने बिश्वास समेत लिएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशिले बताउनु भयो।