महेश /सागर
काठमाडौँ ,
नेपाल प्रहरीको इतिहासमा एउटा यस्तो मोड आएको छ, जहाँ राजनीतिक दबाब र शक्तिको केन्द्रलाई चुनौती दिँदै अपराध अनुसन्धानमा ‘बोल्ड’ छवि बनाएका अधिकारीले संगठनको सर्वोच्च कमान्ड सम्हालेका छन्। सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीलाई हटाएर केसीलाई संगठनको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। यससँगै कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारीमा पठाइएको छ। २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट एउटै ब्याचमा भर्ना भएका दुई सहकर्मीबीचको यो नेतृत्व हस्तान्तरण आफैँमा रोचक छ। यसअघि २०८२ वैशाखमा एआइजी बन्दा आइजिपीको रेसबाट बाहिरिएका केसीले अन्ततः संगठनको सर्वोच्च कुर्सी जितेरै छाडे।
त्यो ऐतिहासिक बिहान: जब सिंह अवकाशमा थिए, कुँवर आइपुगेका थिएनन्
डा. मनोज केसीको प्रहरी जीवनको सबैभन्दा बलियो र चर्चित मोड नक्कली भुटानी शरणार्थी प्रकरण हो। २०७९ पुस २८ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हाल्न आइपुग्दा यो फाइल राजनीतिक दबाबका कारण दराजमा थन्किएको थियो। पीडितहरू लामो समयदेखि न्यायको भीख मागिरहेका थिए, तर यसअघिका अधिकारीहरूले यसमा हात हाल्ने आँट गरेका थिएनन्।
केसीले कमान्ड सम्हाल्नासाथ एउटा सानो, गोप्य र भरपर्दो अनुसन्धान टोली बनाए। गिरोहमाथि निगरानी सुरु भयो। २०७९ चैत १२ गतेको त्यो बिहान नेपाल प्रहरीको इतिहासमै संवेदनशील थियो— निवर्तमान आइजिपी धिरजप्रताप सिंह बिदा भइसकेका थिए भने नयाँ आइजिपी बसन्त कुँवरले कुर्सी सम्हाल्न बाँकी नै थियो। ठीक त्यही शक्ति शून्यताको घडीमा केसीको टोलीले गिरोहका मुख्य नाइकेहरू केशव दुलाल, टंक गुरूङ र सानु भण्डारीलाई पक्राउ गरेर अनुसन्धानको ढोका खोलिदियो।
राजनीतिक नेतृत्वको सातो उडाउने त्यो पक्राउ पुर्जी
प्रारम्भिक अनुसन्धानपछि केसीले फाइल जिल्ला प्रहरी परिसर काठमाडौँ पठाए, तर उनको लिखित राय स्पष्ट र बोल्ड थियो – ‘यो अनुसन्धान गृह प्रशासनको माथिल्लो तहसम्म पुर्याउनुपर्छ।’
त्यसपछि एआइजी श्यामलाल ज्ञवाली र केसीको जुधिरहेको टोलीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई केरकार गर्यो। पाण्डेको मोबाइल म्यासेज र बयानका त्यान्द्रोहरू सिधै सिंहदरबारको शक्तिशाली कुर्सीमा बस्नेहरूसम्म पुगे। २०८० वैशाख २६ को मध्यरात खाणलाई पक्राउ गर्ने रणनीति बन्यो। र, भोलिपल्ट बिहान डा. केसीकै कमान्डमा गएको प्रहरी टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकै निवासबाट नियन्त्रणमा लियो। यो नेपालको इतिहासमै शक्तिशाली राजनीतिक नेतृत्वमाथि भएको सम्भवतः सबैभन्दा ठुलो र साहसिक ‘क्र्याकडाउन’ थियो।
सरुवाको चक्रव्यूह र सिआइबीमा तहल्का
उच्च राजनीतिक नेतृत्वमाथि हात हालेका कारण केसीले शक्तिको कोपभाजन पनि बेहोर्नुपर्यो। विशेष ब्युरोको प्रमुख हुँदा फरार प्रतिवादी प्रतीक थापा र बेचन झा पक्राउ परेपछि तत्कालीन गृहमन्त्री रमेश लेखकले उनलाई दुई महिनामै तालिम केन्द्रमा लखेटेको चर्चा बजारमा चल्यो। तर, उनको व्यावसायिकतालाई खुम्च्याउन सम्भव थिएन। उनले उच्च राजनितीक नेतृत्व र माफियामाथि कानुनी डन्डा चलाएकै कारण आफ्नो करियरमा पटकपटक राजनीतिक प्रतिशोध, दबाब र सरुवाको मार खेप्नुपर्यो। कामको आधारमा अग्रस्थानमा भएपनी राजनीतिक शक्तिकेन्द्र नधाउँदा उनी वरियतामा पहिलो नम्बरमा पर्न सकेनन्। उनका केही प्रतिस्पर्धीहरु अनावश्यक पहुँच र चलखेल गर्दै बरियतामा सधै अगाडि आउने गरेको चर्चा पनि प्रहरी वृत्तमा चल्नेगर्थ्यो।
२०८२ असोज ५ गते सरकारले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुख बनायो। सिआइबीमा पुग्नासाथ उनले ठुला माछा र संगठित अपराधमाथि अर्को अपरेसन सुरु गरे। बैंकिङ कसुर, ठुला दूरसञ्चार कम्पनीको सम्पत्ति कारोबार, सेयर र बिमा ठगी, तथा क्रिप्टोकरेन्सीको जालो उनले भत्काए। २०८२ माघमा पर्यटकको नक्कली उद्धार कागजात बनाएर करोडौँको बिमा रकम ठग्ने ६ वटा ठुला चार्टर कम्पनीका सञ्चालकलाई खोरमा कोचेर उनले फेरि आफ्नो क्षमता साबित गरे। आइजिपी हुनुअघि उनी अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका थिए।
पेस्तोल बोक्ने प्राज्ञ: चार भाषाका ज्ञाता र विद्यावारिधि
डा. मनोज केसी केवल ‘फिल्ड’ का कमान्डर मात्र होइनन्, उनी नेपाल प्रहरीका विरलै भेटिने प्राज्ञिक अधिकारी हुन्। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट ‘नेपालमा बदलिँदो परिस्थितिमा प्रहरी सेवा र नागरिक सुरक्षा’ विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन्। सोही विश्वविद्यालयबाट उनले व्यावहारिक द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्र र सार्वजनिक प्रशासनमा डबल स्नातकोत्तर गरेका छन्।
नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशक रहेका उनले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम (Master in Police science -MPS) नै तयार पारेका थिए। Enhancing Policing in Nepal र संगठित अपराध नियन्त्रणसम्बन्धी उनका शोधमूलक पुस्तकहरू प्रकाशित छन्। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कोसोभो र हाइटीमा खटिएका केसी नेपाली, हिन्दी, अंग्रेजी, फ्रान्सेली र स्पेनी गरी पाँच भाषामा धाराप्रवाह कुरा गर्न सक्छन्।
२८ वर्षअघि एउटा प्रहरी निरीक्षकका रूपमा संगठन छिरेका यी ‘क्र्याकडाउन मास्टर’ को काँधमा अब सिंगो नेपाल प्रहरीको कमान्ड आइपुगेको छ। हिजो शक्तिको आडमा अपराध गर्नेहरूको सातो उडाएका डा. केसीले अब प्रहरी संगठनभित्रको आन्तरिक शुद्धीकरण र देशको शान्ति सुरक्षालाई कसरी अगाडि बढाउनेछन्, त्यो हेर्न बाँकी छ।





