काठमाडौं । आज बिहान देखि नै गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया भएको र अब उनले पनि सर्वसाधारणले जस्तै आँखा देख्न सक्ने भन्दै उनलाई बधाइको ओइरो लागिरहेको छ तर वास्तविकता भने त्यो होइन।
उनको आखाको उपचार भएपनि उनले आँखा भने देख्न सक्ने छैनन् । उनको आखाको शल्यक्रिया मात्र राम्रो देखिनको लागि गरेको हो।
तिलगंगा आँखा अस्पतालमा उनको आखाको शल्यक्रिया भएको हो। मेनुकाको दुवैतर्फ कृत्रिम आँखा अर्थात आइबल राखिएको हो । सो क्रममा बायाँ आँखाको शल्यक्रिया गर्नुपरेको तर दायाँमा भने शल्यक्रिया नगरी आइबल राखिएको मेनुका बताउँछिन् ।
केही घन्टामा नै गरिएको शल्यक्रियापछि उनी अहिले घरमै स्वास्थ्यलाभ गरिरहेकी छिन् । आइबल सेट हुन ६ हप्ता लाग्ने अस्पतालले जनाएको छ । यो उपचारले मेनुकाको आँखाको ज्योति भने फर्काउने छैन, अर्थात् दृष्टिका लागि गरिएको शल्यक्रिया होइन ।
जन्मँदै प्राकृतिक रूपमा आँखाको ज्योति गुमाएकाहरूको दृष्टि फर्काउने प्रविधि अलिहेसम्म चिकित्सा विज्ञानमा विकास भएको छैन ।
“मलाई सामान्य मानिसजस्तै अनि राम्री देखिन भित्रैदेखि रहर थियो । मैले इन्डियामा रहँदा दुई सहरमा यो प्रविधिबारे बुझेकी थिएँ । नेपालमा उपचार छ कि छैन भनि बुझ्दा तिलगंगामा हुनेरहेछ लन्डनबाट फर्किएपछि गर्ने कुरा भएको थियो,” मेनुकाले भनिन् ।
“प्रविधीले विकास गरेको उपचार विधिबाट फाइदा हुन्छ भने किन नगर्ने,” उनलाई लाग्यो । शल्यक्रियापछि आफू निकै खुसी रहेको र अब लगत्तै प्रस्तुतिका लागि अमेरिका जान लागेको उनले बताइन् । “अब तपाइँहरुले मलाइ कालो चस्मा नलगाएकी राम्री गायिका देख्नुहुनेछ, बच्चाहरू पनि मसँग डराउने छैनन्,” मेनुका भन्छिन् ।
आफ्नो जादुमय आवाजले इन्डियन आइडलको स्टेजमा तहल्का पिटेकी मेनुकालाइ नचिन्ने नेपाली साहेदै होलान । अझ नेपालमा भन्दा मेनुकालाइ भारतमा धेरैले चिन्छन्।
आवाजमा जादु भएकी मेनुका दृष्टिका हिसाबले भने बिहिन उनले अरुकै सहयताले हिड्नुपर्छ ।
इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी मेनुका पौडेलको आखाको शल्यक्रिया डा. सन्दुक रुइतको टोलीले केही दिन अघि मात्रै तिलगंगा अस्पतालमा गरेको हो । प्राकृतिक रूपमै जन्मजात दृष्टिहिन मेनुकाको आँखामा सुधार हुन सक्ने भनिएपनि डा. सन्दुक रुइतका अनुसार उनको आँखामा यो राख्दैमा दृष्टि चाहिँ फिर्ता नआउने तर चस्मा खोलेर बाहिरबाट हेर्दा उनको आँखा राम्रो देखियोस् भनेर यो राखिएको बताएका हुन। यसो गर्दा उनले आँखामा चस्माको प्रयोग गर्नु पर्दैन ।
यसअघि भारतको प्रतिष्ठित नेत्र चिकित्सालयमा पनि इण्डियन आइडलको टिमले मेनुकाको आँखाको ज्योति फर्काउने प्रयास गरेको थियो । त्यहाँ चिकित्सकले पूर्ण रूपमा आँखा देख्न नसक्ने भएपनि विशेष खालको डिवाइसको प्रयोग गरेर आँखालाई सहजता प्रदान हुने बताएका थिए ।
चेकअपमा मेनुकाको आँखाको अप्टिक नर्भ्स ले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताएका थिए ।
सुरिलो भाकामा सबैलाई मोहित पार्न सक्ने मेनुकालाई इन्डियन आइडलम धेरैले चिनेका हुन।