काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माण अहिलेसम्म पूरा भएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो ।
धरहरा मात्र ठडिएको छ, धरहराभित्रका काम अहिले पनि भइरहेकै छन् । धरहरा निर्माण थालेको ६ वर्षसम्ममा भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ ।
०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको ठेकेदार कम्पनीलाई छैटौं पटक म्याद थप्न लागिएको छ । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । पाँचौं पटक ०८० असोजसम्म म्याद थप गरिएको थियो । छैटौं पटक आगामी असोजसम्मका लागि निर्माण व्यवसायीले म्याद थप माग गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) आयोजनाका निर्देशक कोषनाथ अधिकारीले बताए ।
जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाल ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ । जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ लागतमा जिम्मा दिइएको हो । रमण कम्पनी धरहरा मात्रै हैन, नेपालका अन्य ठूला पूर्वाधार आयोजना निर्माणको ढिलाइ गर्नेमा पर्छ । रमणले सुनकोशी–मरिण डाइभर्सन आयोजना, भेरी–बबई सिँचाइ आयोजनाको केही भाग निर्माणको जिम्मा पाएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा हेडवर्क्स, पावर हाउस, सर्ज–साफ्टको ठेक्का वाङदोङ युआनतियन–रमण जेभीले लिएको हो । यसको ठेक्का सम्झौता ०७६ साउन १३ मा भएको हो । सम्झौताअनुसार हेडवर्क्स, पावर हाउसको काम ०८० साउन २९ भित्र सकिसक्नुपर्ने हो । समयमै काम नसकिने भएपछि ०८१ भदौ १ सम्म म्याद थप गरिएको छ ।