काठमाडौं । दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ ।
आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५७ रन बनाए । यस्तै साई होपले २३ बलमा २९ रन जोडे । जेक फ्रेजर मक्गर्कले ८ बलमा २१ रन जोडे ।
आरसिबिका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए । स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १ १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो । आरसिबिका लागि रजत पतिदरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ५२ रन बनाए । यस्तै विल ज्याक्सले २९ बलमा ४१ रन जोडे ।
ग्रीनले ३२ रनको योगदान गर्दा विराट कोहलीले १३ बलमा २७ रन बनाए ।
दिल्लीका खलिल अहमद र रशिख सलामले २(२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १ १ विकेट लिए ।
जित पछि पाँचौं स्थानमा उक्लिएको आरसिबिको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नाईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ ।
दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थानको पनि सम्भावना उच्च रहेको छ ।